Wednesday, April 11, 2012

शङ्कर लामिछानेको सम्झना

- सुरेश प्राञ्जली

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफैंले खने । नेपाली 'नन फिक्सन' को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ ।


नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रिम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन : प्याज' मार्फत यो 'चेतनप्रवाह शैली' लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।

Sunday, April 8, 2012

श्यामप्रसादलाई लामिछाने निबन्ध पुरस्कार

शङ्कर लामिछाने निबन्ध समाजले २०६८ सालको शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकार श्यामप्रसाद शर्मालाई सम्मान गरेको छ । 
लामिछानेको ८५ औं जन्मजयन्तीको अवसर पारेर गत चैत  गते पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवम् साहित्यकार सत्यमोहन जोशीले पुरस्कार अर्पण गरेका थिए  १९८६ असार  गते मकवानपुरको सोलीथुम गाउँमा जन्मिएका श्यामप्रसादका तन्नेरी साथीहरुसँग दुईचार कुराबहिनीलाई चिठी-भाग   तँ-तिमी-तपाईँ-हजुरसाहित्य सम्बन्धी दुईचार कुरालेखक कसरी बन्नेथुनुवाको डायरीकेही कविताकेही गीतमेरा डायरीका पानाश्रद्धाको एउटा थुँगोभूमिकाहरू लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरी निबन्ध विधामा कलम चलाउने उनले साहित्यस्वास्नीमान्छे लगायतका पत्रिकाको सम्पादन पनि गरेका छन् 
उनका निबन्धहरूलाई समेटेर विवेक सिर्जनशील प्रकाशनले २०६१ सालमा श्यामप्रसादका निबन्धहरू नामक कृति निकालेको छ 

Friday, April 6, 2012

सिद्धान्त र व्यवहारको विपर्यासमा : शङ्कर लामिछाने


॥ गीता त्रिपाठी ॥
सिद्धान्तले अँगालेको जीवनमूल्य व्यवहारमा पाउन प्रायः असम्भव हुँदोरहेछ । असम्भव हुँदोरहेछ - आफ्नै दृष्टिकोणबाट आफैलाई बचाएर राख्नु पनि । जीवनका भोगाइहरुले भावलाई मात्र होइन विचारलाई पनि कता हो कता बहकाएर लैजाँदोरहेछ । त्यसैले त जीवनभरको प्रयासमा पनि आफैलाई चाहिँ चिन्न सक्दैन मानिसले अरुका सन्दर्भमा निकै समालोचकीय अवधारणाहरु बनाउनेले पनि आफ्नै परिचयको ऐनाभित्र भने सधैँजसो धमिलो छायामात्र भेट्छ विश्वका चर्चित स्रष्टाहरुका जीवनीका पाटाहरु यसरी नै रहस्यपूर्ण पहाडमय भएको पढिन्छ र सुनिन्छ तिनमा अव्यवहारिकताको चरम आरोप लागेको हुन्छ । भावनाको केन्द्र प्रबल हुनुलाई असामाजिक यात्राको थालनी मानिदिन्छ समाजले र परम्परा तोड्न सङ्घर्षरत योद्धा आफ्नो प्रहारले आफै घाइते भइरहन्छ बारम्बार । उसलाई लाग्छ जीवन कॆही हो कि जस्तो अथवा केही होइन कि जस्तो पनि । अनि अल्झिरहन्छ- उसैमा उसका प्रतिबिम्बहरु ।

सन्दर्भ शंकर लामिछानेको हो । नेपाली साहित्यमा उनै स्रष्टा मृत्युको पच्चीस वर्षपछि पुनः परिचित भए वि.सं. २०५७ सालमा । त्यो पहिचान दिलाउने स्रोत नै उदार युवा ढुकढुकीको अभियान- भावक अभियान थियो । "केवल एक पाठकका रुपमा उहाँका पुस्तकहरुसितको मेरो सामीप्यता त्यतिबेला टुट्दछ जब मेरा र्‍याकबाट "एब्स्ट्रयाक्ट चिन्तन : प्याज" हराउँछ वा साथीले पढ्न लगेको "बिम्ब-प्रतिबिम्ब"  फर्काइदिँदैन । अझै भनौँ बिहान-बेलुका हप्तामा एकाधपटक पढ्दापढ्दै च्यातिएको 'गोधूलि संसार'को अन्तिम अवस्थाप्रति डरले मुटु काम्न थाल्दछ । अब यसपछि मसँग पढ्न योग्य पुस्तक छैनन्- म अक्षरहीन हुँदैजान्छु…। यसपछि सुरु हुन्छ महान् शङ्करको खोजी र बचाव' -सायमी- बिम्ब-प्रतिबिम्ब  २०५८ । त्यो प्रयासपछि उनको निबन्ध-प्रवृत्ति र योगदानको व्यापक चर्चा सुरु भयो । नेपाली निबन्धको यात्रामा उनका निबन्धहरु वरदान साबित भए र शंकर लामिछाने र उनका निबन्धकारितालाई चिनाउन अब अर्को पुस्ताले सायद अर्को लडाईं लड्नु नपर्ने भयो । तर अन्तरमा अझै पनि उनकै जीवनजस्तो सरस या निरस उनका प्रयोगधर्मी निबन्धहरु आज पनि अधिकांश नेपाली पाठकको मस्तिष्कमा बिजुली झै चम्किएर उज्यालोको आन्दोलनमा हृदयलाई तानिरहेकै छन् । पाठक त्यस आन्दोलनमा जति गहिरिन सक्यो त्यही नै उनको निबन्धको बोध पनि बन्दै गएको छ । आज झन् जटिल बन्दै गएको परिस्थितिको यो विकराल उठानमा उनका नयाँ पाठकहरु उनको शैलीमा जीवन लेख्‍न उक्सिरहेको वर्तमान यथार्थ छ । उनी परम्परित नेपाली लेखन-चिन्तनबाट पाखा आउन चाहन्थे । 

Wednesday, April 4, 2012

माया नं ६५३


माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।
आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो । उसले आफ्नू नारीघडी सारेर छालामा अङ्कित मिति पढी - १७ मार्च, २०५० । यो थियो उसको जन्मदिन ! नं ६५३ यो थियो उसको जन्मसङ्ख्या ।
ऊ नगरपालिकाको जनसङ्ख्या-नियन्त्रण-विभागमा काम गर्दथी । तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवनकार्यक्रमको लेखो राख्ने काम थियो । र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननीगुणरहित कति नारी छन् । उनीहरु के काम गर्छन् र कुन विभागमा ? यो पनि ऊ जान्दथी । त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन् - र त्यस विबागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्ने मानिस छन् । सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो - सरकारका पूर्वनिर्धारित योजनानुसार नै उनलाई जन्माइन्थ्यो ।

Wednesday, May 11, 2011

सन्दर्भ लक्ष्मी जयन्ती


२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'

जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्‍ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरेँ ।